काठमाडौं, असार १९ गते । सत्तारुढ दल नेकपा (एमाले)को १३ औं केन्द्रिय कमिटीको बैठक शनिबार सम्पन्न भएको छ । बैठकले प्रमुख पाँच विषयमा निर्णय गरेको पार्टीका केन्द्रिय सदस्य पद्मा अर्यालले जानकारी दिइन् ।
एमालेका केन्द्रीय कमिटीको आजको बैठकले आगामी साउन २५ र २७ गते विधान अधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको छ । जसमा पार्टी अध्यक्ष ओलीबाट पार्टीको राजनीतिक प्रतिवेदन, महासचिव पोखरेलको संयोजकत्वमा संगठनात्मक प्रस्ताव, संगठन विभाग प्रमुखको संयोजकत्वमा विधान संशोधन प्रस्ताव र रामबहादुर थापा बादलको संयोजकत्वमा पार्टीको व्यवस्थापन मामिलाको प्रस्ताव अघि बढाइएको थियो । यसैगरी, एमाले केन्द्रीय कमिटीको तल्लो तहको अधिवेशनहरु वडा तहको आगामी भदौ ५ गते र पालिका तहको आगामी भदौ १५ गते गर्ने निर्णय आजको एमाले केन्द्रीय कमिटीको बैठकले गरेको ।
यसैगरी, एमाले पार्टीको केन्द्रीय तहको ३२ वटा विभागको सदस्यहरुको नामावलीको अन्तिम रुप आगामी बस्ने एमाले स्थायी कमिटीको बैठकले निर्णय गरिने अर्यालले जानकारी दिइन् । एमालेको आजको बैठकले आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यवधि निर्वाचनमा जुट्न पार्टीको नेता तथा कार्यकर्तामा आवहान गरेको छ। आगामी साउनमा स्थानीय निर्वाचनका लागि जुट्न पनि एमालले निर्णय गरेको अर्यालले बताइन् ।
बैठकले आगामी असार मसान्तसम्म पार्टीको सदस्यता नवीकरण गर्ने र साउन ५ गतेभित्र सबै विवरण पार्टीको केन्द्रिय कमिटीमा पठाइसक्ने प्रस्ताव अघि सारिएको थियो ।